
काठमाडौं, माघ ३० गते
काठमाडौँ महानगरपालिकाभित्रका ३३ वटा सामुदायिक विद्यालय र ३ वटा अस्पतालमा गरी ३६ वटा पैदलयात्रु संवेदनशील क्षेत्रमा अनडिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरिएको छ । यो, जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्ने प्रणाली हो । यो प्रणालीलाई पहिलो पटक बागदरबार र त्यसपछि बबरमहलमा परीक्षण गरिएको थियो । यसबाट सकारात्मक नतिजा प्राप्त भएपछि ३६ स्थानमा राख्ने योजना बनेको हो ।
यसबाट पैदल यात्रा सुरक्षामा नयाँ आयाम थपिएको महानगरको बुझाई छ । पैदलयात्रीले स्विच थिचेपछिको कम्तीमा ६० सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि सडकको चौडाइ र पैदलयात्रीको चाप अनुसार ८ देखि २० सेकेन्ड हरियो बत्ती बल्छ जुन विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गाइडलाइनबाट निर्देशित छ । पहिलो पैदल यात्रीको हरियो बत्ती बलेको अवधि सकिएपछिको पुन: १ देखि २ मिनेटमा मात्र पैदलयात्रीले अर्को पटकका लागि क्रस गर्न सक्छन् । अर्थात्, १ देखि २ मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि हरियो बत्ती बाल्न सकिन्छ ।
पेलिकनको २ वटा उद्देश्य छन् । एउटा, बालिबालिकालाई र अस्पतालमा आवतजावत गर्ने बिरामीलाई सडक सुरक्षा प्रदान गर्न सकियोस् । अर्को, भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यवहारिक ज्ञान दिन सकियोस् ।
महानगरको प्राविधिक समूहले ट्राफिक प्रहरीबाट प्राप्त ५ बर्षे तथ्याङ्कमा यी ३६ क्षेत्रमा पैदल यात्रीको ठुलो चाप छ, दुर्घटना जोखिम देखिएको थियो । यस कारण पटक पटक पैदल यात्रीहरू दुर्घटनामा पर्ने गरेका थिए । प्रणाली जडान भएपछि पैदल यात्रीहरूले सवारी साधन रोकिएको यकिन भएपछि मात्र सडक पार गर्ने अवसर पाउन भन्ने पनि हो ।